अङ्कारा (टर्की), ३२ साउन । टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले जुलाई १५ मा टर्कीमा भएको असफल राज्य विद्रोह कु मा संलग्न व्यक्तिलाई न्यायिक सुनुवाई गरी कडा सजाय दिइने बताउनुभएको छ ।
उहाँले संचारमाध्यममा चर्चा गरिएअनुसार उनीहरुमाथि मृत्युदण्डको सजाय नहुने मङ्गलबार प्रधानमन्त्रीले प्रष्ट पार्नुभएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले जुलाई १५ मा भएको असफल विद्रोहपछि टर्कीले पुनः मृत्युदण्डको प्रावधानलाई ब्युताउन सक्ने बताउनुभएको थियो । टर्कीमा सन् २००४ देखि मृत्युदण्डको प्रावधानलाई हटाइएको छ ।
राष्ट्रपतिको यो घोषणाले युरोपियन युनियन (ईयू)लाई स्तब्ध पारेको ईयूले प्रतिक्रिया दिँदै आएको थियो । ईयूले टर्कीलाई यदि मृत्युदण्डको सजायलाई पुनः अभ्यासमा ल्याए ईयू सदस्यता प्रदान गर्न नसकिने चेतावनी दिएको थियो ।
ईयू सदस्यता प्राप्त गर्नका लागि लामो प्रयास गरेपछि ईयूले टर्कीलाई आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सदस्यता प्रदान गर्न सकिने सम्भावना रहेका बताइँदै आएको छ ।
कुनै पनि घटनाको दोषीलाई एकैपटक मार्ने (मृत्युदण्ड) दिने कुराभन्दा नागरिकले गरेको कर्तुत हेरी अन्य कडा कानुनी कारबाही पनि गर्न सकिन्छ ।
मृत्युदण्डभन्दा कठोर तर हेर्दा सामान्य लाग्ने सजाय पनि विश्वमा अभ्यासमा रहेका छन् ।
कसैलाई आजीवन काराबासको सजाय तोक्नु मृत्युदण्डभन्दा कम कठोर हुँदैन, प्रधानमन्त्री इल्दिरिम सजायको स्वरुपबारे प्रतिक्रया दिनुभयो ।
राष्ट्रपति एर्डोगानले यदि नागरिकले मृत्युदण्डको प्रावधानलाई फिर्ता ल्याउने कुरालाई अनुमोदन गर्छन् भने सरकार यसका लागि तयार हुने भनी एक महिना पहिले प्रतिक्रिया दिनुभएको थियो ।
गुलेनविरुद्ध दोहोरो जन्मकैद माग
पश्चिमी टर्कीका न्यायाधिकारीद्वारा अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका इस्लाम धर्मगुरु फेतुल्लाह गुलेनविरुद्ध दोहोरो जन्मकैदको माग गरेका छन् ।
टर्कीका इस्लाम धर्मगुरु गुलेनले टर्कीमा राजनीतिक अस्थिरता निम्त्याउन अमेरिकामा बसी राज्यविरोधी काम गरेको उनीहरुको दाबी छ ।
गुलेनमाथि टर्कीमा जुलाई १५ मा भएको असफल राज्य विद्रोह कु गर्ने प्रयास गरेको आरोप पनि छ ।
गुलेनद्वारा चलाएको धार्मिक अभियानको एक वर्ष लामो अनुसन्धानपछि टर्कीको पश्चिमी सहर उसाकका न्यायाधिकारीले गुलेनलाई दोहोरो जन्मकैदसहित एक हजार ९०० वर्षको काराबास हुनुपर्ने माग गरेको टर्कीको सरकारी समाचार संस्था अनादोलुले जनाएको हो ।
उसाकको अदालतले मङ्गलबार स्वीकार गरेको दुई हजार ५०० पृष्ठ लामो आरोपपत्रमा गुलेनसहित १११ जना अन्य शङ्कास्पद व्यक्तिलाई अमेरिकी परोपकारी संस्था वा चन्दादाताद्वारा संदिग्ध कम्पनीमार्फत कारोबार गरेको आरोप छ ।
उक्त आरोपपत्रमा इस्लाम धर्मगुरु गुलेनको टर्कीमा यस वर्षको जुलाई १५ मा भएको असफल कु प्रयासमा संलग्नता रहेको बताइएको छ ।
अमेरिकी राज्य पेनसिलभेनियामा स्वघोषित निर्वासनमा रहँदै आउनुभएका गुलेनमाथि अदालतमा उहाँको अनुपस्थितिमै राज्य विद्रोह गरी सत्ता परिवर्तन गर्न सैन्य समूहलाई नेतृत्व दिएको आरोपमा मुद्दा चलाइएको छ ।
उहाँमाथि आतङ्कवादी समूहलाई नेतृत्व प्रदान गर्दै राज्यविरोधी गतिविधि गर्न विभिन्न धार्मिक समुदायलाई उद्दत गराएको आरोप छ ।
धर्मगुरु गुलेनमाथि सन् २०१५ को नोभेम्बरदेखि उहाँको अनुपस्थितिमा नै अर्को एक मुद्दा पनि चलाइएको थियो ।
यसैबिच मङ्गलबार इश्तानबुल प्रहरीले धर्मगुरु गुलेनलाई आर्थिक सहयोग गर्ने विभिन्न ४४ शङ्कास्पद कम्पनीमाथि छापा मारेको छ ।
यसैगरी सरकारी सुरक्षाकर्मीले मङ्गलबारै १२० कम्पनीका प्रशासक प्रमुखलाई हिरासतमा लिन पक्राउ पूर्जी जारी गरेका छन् ।