लन्डन । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको २ सय औं वर्ष गांठ भव्य रुपमा मनाउने तयारी भइरहेको छ । लन्डनस्थित बेलायती विदेश मन्त्रालय (एफसीओ) मा आगामी १६ डिसेम्बर सांझ एक समारोहबीच वर्ष गांठ मनाउने तयारी भएको हो ।
कार्यक्रममा सहभागी हुन नेपालका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा १५ डिसेम्बरका दिन लन्डन उत्रने दूतावास श्रोतले जनाएको छ ।
एफसीओले कार्यक्रममा सहभागी हुन लन्डनस्थित नेपाली दूतावासमार्फत बेलायतको नेपाली डायष्पोरालाई आमन्त्रण गरिसकेको छ । बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि, प्राज्ञ, वुद्धिजिवी, पत्रकार लगायत बढिमा पांच दर्जनलाई समारोहमा निम्त्याइएको छ ।
नेपालसंग बेलायतको कुटनीतिक सम्वन्ध सन् १८१६ मा स्थापना भएको हो । नेपाल बेलायतसंग कुटनीतिक सम्वन्ध स्थापना गर्ने दक्षिण एसियामै पहिलो मानिन्छ । नेपालले सन् १९३४ देखि लन्डनमा दूतावास समेत स्थापना गरेको छ ।
सन् १९७९ यता बेलायत बस्दै आएका समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओविइ) इतिहास पढेर र व्यवहारबाट पनि बेलायत नेपालको पुरानो मित्रराष्ट्र भएको बताउंछन् । नेपालको शिक्षा, स्वास्थ्य र विकासमा बेलायतको निरन्तर सहयोग रहेको उल्लेख गर्दै डा. धितालले तत्कालीन समयमा ब्रिटिश सेनामा गोर्खालाई भर्ती लिएर बेलायतले गोर्खा र देशको आर्थिक समृद्धिमा ठूलो योगदान गरेको स्मरण गरे । ‘हामीले दुवै देशको गुन बिर्सनु हुन्न’, धितालले भने, ‘तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला बेलायतले मोदीसंग कुम जोडेर जुन विज्ञप्ति निकाल्यो त्यसले म जस्ता धेरै नेपालीको मन दुखेको छ ।’
बेलायतले वर्षेनी करिब १०५ मिलियन पाउण्ड सहयोग गरेर नेपालको सबैभन्दा ठूलो दातृराष्ट्र भएबाट पनि दुई मुलुकबीचको प्रगाढ सम्बन्ध झल्कने बताउंछन् कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री । उनले बेलायतले नेपालको आर्थिक, सामाजिक, शैक्षिक विकासदेखि शान्ति प्रक्रियामा समेत विशेष योगदान गरेको स्मरण गरे । गत बैशाखको विनाशकारी भूकम्पपछि बेलायतले नेपाललाई मानवीय सहायता स्वरुप ७० मिलियन पाउण्ड सहयोगको प्रतिवद्धता गरेको थियो ।
कुटनीतिक सम्वन्ध जोडिएपछि दुई मुलुकका उच्च ओहोदाका कयौं व्यक्तित्वले बेलायत र नेपाल भ्रमण गरिसकेका छन् । सन् १८५२ मा नेपालका तत्कालिन प्रधानमन्त्री जंगबहादुर कुंवरले पहिलो बेलायत भ्रमण गरेका थिए ।
नेपालबाट कयौं पटक बेलायतको राजकीय भ्रमण भएका छन् । सन् १९०८ मा प्रधानमन्त्री चन्द्र शमशेर राणा बेलायतको राजकीय भ्रमणमा आएका थिए । सन् १९६० अक्टोबरमा तत्कालिन राजा महेन्द्र तथा सन् १९८० र ९५ मा वीरेन्द्रको समेत यहां सवारी भएको थियो । त्यसैगरि, राजा ज्ञानेन्द्र र रानी कोमल सन् २००३ मा निजी भ्रमणमा बेलायत आएका थिए ।
सन् १९९५ मा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी, सन् १९९६ र २००२ मा प्रधानमन्त्री शेरबहादुर देउवा र सन् १९९९ मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पनि ब्रिटेनको औपचारिक भ्रमण गरेका थिए ।
तत्कालिन सभामुखहरु दमननाथ ढुंगाना, तारानाथ रानाभाट, उपप्रधानमन्त्री माधवकुमार नेपाल, प्रधान सेनापतिहरु प्यारजंग थापा, छत्रमानसिंह गुरुङ, रुक्मांगत कटवाल जस्ता वरिष्ठ व्यक्तिहरुको पनि भ्रमण भइसकेको छ ।
पछिल्लो समय पनि विभिन्न मन्त्री, नेता, सभासदहरुको औपचारिक र अनौपचारिक भ्रमण निरन्तरता कायमै छ ।
बेलायतबाट महारानी एलिजावेथ द्वितिय र प्रिन्स फिलिपले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेका थिए । राजकुमारी डायना, प्रिन्स चाल्र्ससहित बेलायती मन्त्रीहरु धेरैले नेपाल भ्रमण गरिसकेका छन् । यद्यपि, बेलायती प्रधानमन्त्रीको भने इतिहासमै एकपटक पनि नेपाल भ्रमण हुन सकेको छैन् । दूतावासले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन नेपाल जान इच्छुक रहेको बताउने गरेपनि भ्रमण चाहिं अझै तय हुन बांकी छ ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन