काठमाडौँ, एउटा सुपरिचित नाम हो, नन्दबहादुर पुन उर्फ ‘पासाङ’ । नेपालमात्र होइन विश्वभरका मान्छेले सुनेका छन् उनको नाम विभिन्न कोणबाट ।
पटक पटक मृत्युको मुखबाट फर्किएर नाफाको जिन्दगी जिइरहेका पुन समग्रमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको प्रतीकका रुपमा परिचित छन् । सशस्त्र सङ्घर्षदेखि शान्तिप्रक्रियाको पूर्णतासम्म यो नाम चर्चामा रहिरह्यो । कुनै समय यस्तो पनि थियो माओवादी अध्यक्ष पुष्पकमल दाहालपछि चर्चामा आउने नाम नै पुनको थियो ।
अहिले फेरि सर्वाधिक चर्चामा आएको छ यो नाम । मुलुकका पाँचवटा विशिष्ट पदमध्ये दोस्रो स्थानमा रहेको उपराष्ट्रपति पदमा उनी आज विजयी भए । सशस्त्र सङ्घर्षका क्रममा कहिल्यै हार्न नजानेको उनको विशेषतामा संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा भने विराम लागेको थियो ।
जन्म र परिवार
नन्दकिशोर भनेर चिनिने ‘पासाङ’को वास्तविक नाम भने नन्दबहादुर पुन हो । पासाङ भने सशस्त्र सङ्घर्षले जन्माएको नाम हो । राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते बुबा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मिएका उनी पाँच भाइमध्ये माइलो हुन् । उनका तीन दिदीबहिनी छन् । श्रीमती र दुई छोराका बाबु हुन् पुन ।
पुनले तत्कालीन राङ्सी निमाविबाट २०३७ सालमा ७ कक्षा उत्तीर्ण गरेका छन् । माध्यमिक तहको अध्ययन पूरा गर्न सदरमुकाम लिबाङस्थित बालकल्याण माविमा भर्ना भए । तर त्यहाँ उनलाई अवरोध भयो । प्रहरीले वारेन्ट जारी गरयो । विद्यालय प्रशासनले विद्यालय वा राजनीति छाड्नुपर्ने चेतावनीपछि २०३९ सालमा ९ कक्षा पढ्न थबाङ पुगे । त्यहीँबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गरे।
विसं २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर आइएसम्मको अध्ययन पूरा गरे । शान्ति प्रक्रियापछि अध्ययनलाई पुनः निरन्तरता दिँदै उनले राजनीतिशास्त्रमा स्नातक गरे ।
विसं २०३७ मा निमावि राङ्सीमा कक्षा ७ मा पढ्दा उनी अनेरास्ववियु छैटौँको एकाइ अध्यक्ष भए । लिबाङमा पढ्दा तत्कालीन शिक्षक एवम् हालका एमाओवादीका महासचिव कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित गरयो उनलाई । महराको सरल स्वभाव र पढाउने शैलीले उनलाई आकर्षित गरयो ।
विसं २०३९ मा अनेरास्ववियुको बुटवलमा सम्पन्न प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलनमा रोल्पा जिल्लाबाट प्रतिनिधि भएर सहभागी भएपछि उनमा राजनीतिप्रति आकर्षण बढ्यो । सो सम्मेलनबाट लीलामणि पोखरेल अध्यक्ष भएको र खुसीराम पाख्रिनले गाएको गीत अहिले पनि सम्झना छ उनलाई । खुसीराम पाख्रिनको ‘अर्काको भारी बोकेर हामी उकाली ओराली, कहिले त खोला कहिले त भन्ज्याङ डाँडाको चौतारी’ पुन सम्झन्छन् ।
शिक्षकको रुपमा पुन
प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि पुनले पार्टी कामको साथसाथै शिक्षण पेसा पनि अङ्गाले । विसं २०४३ देखि आठ वर्षसम्म पहिले आफूले पढेको निमावि राङ्सीमा अध्यापन गए, उनी जाँदा जुन मावि बनिसकेको थियो भने अहिले उच्च मावि बनेको छ । पूर्वमन्त्री जयपुरी घर्ती, नेकपा–माओवादीकी नेत्री तारा घर्तीलगायतलाई उनले पढाउनुभएको थियो । पूर्णकालीन भइसक्दा पनि अध्यापनको काम जारी राखे । विभिन्न खेलमा रुचि भए पनि भलिबल उनको प्राथमिकतामा पर्छ ।
सङ्घर्षमा पुन
बाल्यकालदेखि नै अन्याय नसहने स्वभावका पुनले रोल्पाको राजनीतिमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो जुन सङ्घर्ष सशस्त्र सङ्घर्षको आधार निर्माण थियो । दर्जनौँ विपक्षीलाई लट्ठीले एकसाथ प्रहार गर्न सक्ने उनको कला रोल्पामा अहिले पनि तारिफ हुन्छ, जुन कला उनको बुबाले सिकाए । माओवादी पार्टी नबन्दै तत्कालीन एकता केन्द्रले २०४८ पछि योङ् कम्युनिष्ट लिग (वाइसिएल) लाई लडाकु दस्ता बनाएर राजनीतिक गतिविधि चलायो । त्यसबखत पुन वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष भए ।
सशस्त्र सङ्घर्षअगावै स्थानीय प्रशासनले पुनको टाउकाको मूल्य तोकेको थियो । मूल्य थियो रु ३५ हजार । जहाँ भेट्यो त्यहीँ मार्न भनेर प्रशासनले प्रहरी परिचालन गरयो । माओवादीको पहिलो रोल्पा जिल्ला सदस्य भएपछि बढी निगरानीमा राखेको उनले रासससँगको कुराकानीमा नै बताए । विसं २०५१ को स्थानीय चुनावका बेलामा पक्रेर १५ दिन हिरासतमा राखियो । विसं २०५१ मङ्सिर ९ गते गाउँको स्थानीय मेलामा (इरिबाङको चप्का) प्रहरीले पक्राउ गर्न खोज्यो । लट्ठी चलाउन माहिर पुनले प्रहरीलाई लट्ठीले ढालेर भाग्दै गर्दा गोली चलायो । उनको पाखुरामा गोली लाग्यो । तर बाँच्न सफल भए ।
राजनीतिमा पुन
विसं २०४६ मा पार्टी सदस्य भएका पुन एकता महाधिवेशनबाट बनेको एकता केन्द्रको सदस्य तथा युवक सङ्गठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ सालदेखि पूर्णकालीन भएर राजनीति सुरु गरे । एकता केन्द्र बनिसकेपछि भएको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन भए । कृष्णबहादुर महरा सचिव, सन्तोष बुढा, करुण, प्रताप र पुन रहनुभएको पाँच सदस्यीय जिल्ला समिति बन्यो । जनयुद्धको तयारी गर्दा वाइसिएलको जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहनुभएका पुन होलेरी आक्रमण गर्दा उत्तरपश्चिम र दक्षिण कमाण्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमाण्डर भए । माओवादी सेनाको बटालियन कमिसार, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर, डिभिजन कमाण्डर, डिपुटी कमाण्डर र जनसेना प्रमुख बने । माओवादीले निर्माण गरेको लडाकु दलको सदस्यदेखि सेना प्रमुखको जिम्मेवारी उनले पूरा गरे ।
पुन एमाओवादीको जिल्ला सदस्य, क्षेत्रीय ब्यूरो सदस्य हुँदै माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र भारतको गोवामा बसेको बैठकबाट पोलिटब्यूरो सदस्य भए । हाल पुन एमाओवादीको स्थायी समिति सदस्य, युवा ब्यूरो इन्चार्ज, पूर्व पिएलए सङ्घको संयोजकलगायतका राजनीतिक जिम्मेवारीमा छन् ।
माओवादीले पश्चिम नेपालमा सञ्चालन गरेको सशस्त्र सङ्घर्षका ठूलाठूला लडाईं सबै उनकै नेतृत्वमा भएका थिए । प्रहरीमाथि भएका अभियान होलेरी (दोस्रो, झिम्पे, जेल्बाङ, लुहाम, महत, घर्तीगाउँ, तकसेरा, पाँचकटिया, रुकुमकोट उनकै नेतृत्वमा भएका हुन् । डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कर्णालीको जुम्लामाथिको आक्रमण पुनकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मङ्गलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी कब्जा उनकै नेतृत्वमा भएका हुन् । रोल्पाको गाम, लिस्नेमा भएको सङ्घर्षमा पुन नै कमाण्डर थिए ।
शान्ति प्रक्रियाका नायक
शान्ति प्रक्रिया टुङ्गिनुमा पनि पुनको संयमताले धेरै काम गरयो । दलहरुले जतिसुकै सहमति वा सम्झौता गरेको भए पनि पुनले नचाहेको भए शान्ति प्रक्रिया नटुङ्गिन सक्थ्यो । शान्ति प्रक्रिया जारी रहँदासम्म उनले जनसेनालाई संयमताका साथ जिम्मेवार बनाएर राखे । सातवटै लडाकु शिविरका कमाण्डरले उनलाई साथ दिए । त्यसमा उनमा भएको सैन्य नेतृत्व कलाले काम गरयो ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित