कांग्रेस उमेद्वार खड्का विजयी

काठमाडौं। बागलुङ क्षेत्र नं १ मा सम्पन्न संविधानसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार चम्पादेवी खड्का विजयी भएकी छन्। खड्का नेकपा एमालेकी मनकुमारी केसीलाई २ हजार ८६ मत अन्तरले पछि पार्दै निर्वाचित भएकी हुन्।Khadka

खड्काले १७ हजार १ सय ५४ मत पाइन् भने केसीले १५ हजार ६८ मत पाएकी छन् । एमाओवादीका कृष्णबहादुर केसीले २ हजार ५ सय ५ मत पाए। माओवादीका केसीसहित सबै उम्मेदवारको जमानत जफत भएको छ।

नेपाली कांग्रेसका तत्कालीन सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि शनिबार उपनिर्वाचन भएको थियो । चम्पादेवी दिवंगत हरिबहादुकी पत्नी हुन् ।

विजयी खड्कालाई मुख्य निर्वाचन अधिकृत हरिप्रसाद जोशीले प्रमाणपत्र प्रदान गरेका छन् । सो अवसरमा नवनिर्वाचित खड्काले जनताले दिएको मतको उच्च सम्मान गर्दै संविधान निर्माण र विकास निर्माणमा लागिपर्ने प्रतिबद्धता जनाइन् । ‘समाजमा पछि परेका महिलाको हतहितको पक्षमा आवाज उठाउनेछु,’ खड्काले भनिन्, ‘मेरा पतिले सुरु गरेर पूरा नभएका योजना पनि मेरो प्राथमिकतामा छन् ।’

गत निर्वाचनमा एमाओवादीले ६ हजार ३ मत ल्याएको थियो । यसपटक एमाओवादी उमेदवारको जमानत जफत भएको छ । उपनिर्वाचनमा ५२ हजार २ सय २ मतदाता रहेकोमा ३८ हजार २ सय ९० मत खसेको थियो ।

निर्वाचनमा १० राजनीतिक दल र ३ स्वतन्त्र गरी १३ उम्मेदवार मैदानमा थिए । राष्ट्रिय जनमोर्चाका नेत्र बुढाथोकीले १ हजार ९ सय ४९ मत, नेकपा मालेका कुलबहादुर किसानले ४ सय ४४ मत ल्याएका छन् । राप्रपा नेपालका नवीनचन्द्र सर्वुजाले २ सय ६५, संघीय समाजवादी पार्टी नेपालका रेशम थापा मगरले २ सय ४४, नेपाल परिवार दलका बाबुराम शर्माले ३५, राष्ट्रिय जनमुक्ति पार्टीका रुकबहादुर पुनले ६०, राष्ट्रवादी एकता पार्टीका क्षेत्रबहादुर थापाले २५ मत तथा स्वतन्त्रतर्फ सरस्वती पन्तले २ सय ६, तुलसी थापाले ३४ र नैनकुमारी केसीले ५९ मत प्राप्त गरेका छन् ।

विद्युतीय मतदान गरिएकाले आइतबार करिब ११ बजे सुरु भएको मतगणना ६ बजे सकिएको थियो ।

गत वर्ष मंसिर ४ मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका खड्काले १३ हजार ५ सय मत पाएका थिए भने एमालेका हीराबहादुर खत्रीले ११ हजार ९ सय ६३ मत पाएका थिए । तेस्रो स्थानमा रहेका एमाओवादीका कृष्णबहादुर केसीले ६ हजार ३ मत पाएका थिए ।

चम्पादेवी खड्का २०२१ साल असोज २८ गते जिल्लाको पैयुँपाटा गाविस वडा नं ९ मा जन्मिएकी हुन् । २०३८ सालमा त्रिभुवन मावि पैयुँपाटाबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भई जिल्ला दोस्रो भएकी खड्काको २०३८ फागुन २८ मा हरिबहादुरसँग विवाह भएको थियो । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध खड्का पतिको मृत्युपछि राजनीतिमा सक्रिय भएकी हुन् । उनका दुई छोरा छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री