भोकभोकै बाँच्न र नाङ्गै सुत्न बाध्य छन् चेपाङहरु

धादिङ  । अन्नको नाममा एक डोको मकै । उनले एक वर्षका लागि त्यति अन्नले आठजनाको परिवार पाल्नुपर्दछ । परिवारमा ज्याला मजदुरी गर्न सक्ने चारजना छन् । लगाउने एकसरो लुगाबाहेक अरु केही नहुँदा चिसो बढेसँगै चिसोमा कामेर रात कटाउनुपर्ने बाध्यता छ ।

दक्षिणी धादिङको जोगिमारा गाविस–१ लैताकका बुधराम चेपाङको परिवारको सधैँको दुःखले छाडेको छैन ।

उनको आठजनाको परिवारले पेटभरि खाना खान नपाएको महिनौँ भयो । बच्चाहरु निन्याउरो अनुहार लगाएर पिँढीमा एकमुठी बोडी केलाउँदै गर्दा उनका बुबा बुधराम भने कालो कराई माझ्दै छन् । कमाएर ल्याएको खानेकुरा सकिएपछि भोकभोकै बस्नुपर्ने भएकाले आधा पेटमै चित्त बुझाउनुपर्ने बाध्यता छ यो परिवारलाई ।

केही वर्षअघि खरले छाइएको उहाँको घर पानी परेको बेला आधा भित्रै चुहिने भएकाले केही भागमा गाउँलेले फालेको प्लास्टिक ल्याएर छानोको प्वालमा छेकिएको छ । तर केही दिनअघि परेको पानी भने घरभित्रै पसेर बस्न नसक्ने अवस्थामा पुगेको थियो । बुधरामले भने, त्यसरात २२ भाँडो पानी बाहिर फ्याँके ।

बुधरामको घरमा लगाउने लुगामात्र होइन आफ्नो ओछ्याउने र गुन्द्रीसमेत छैन । केही कालो भएको थाङ्नामात्र उनीहरुको सिरक डसना थिए ।

जाडो समय आयो । उनको बालबच्चा र श्रीमतीले नयाँ लुगा लगाउन नसकेको वर्षौं भयो । बुधरामले जाडोको समयमा आफूहरु अगेनामा आगो बाल्ने र अनि एक/एक बच्चा च्यापेर ठूलामान्छे अँगेना छेउमा लस्करै सुतेर रात बिताउने गरेको बताए ।

बुधराममात्र होइन, लैताकका खुमकुमारी चेपाङको परिवारको पनि उस्तै हालत छ । दुईजना बच्चालाई काखमा च्यापेर अगेनाको छेउमा सुतेर रात कटाउने गरेको उनी बताउँछिन् ।

लैताकमा १० घर चेपाङ परिवारको अवस्था उस्तैखालको छ । उनीहरुले वर्षैभरि ज्याला गरेर खानुपर्छ भने अगेनाको वरिपरि सुतेर रात कटाउनुपर्ने बाध्यता छ ।

नेपाल चेपाङ सङ्घको सिफारिसमा नेपाल सरकारले चेपाङ आवास कार्यक्रमअन्तर्गतको घर केही पनि नभएका चेपाङले नपाएको गुनासो गर्दै ठूलाबडा र साहु चेपाङहरुले धेरैले यस्तो घर बनाउन पाएकाले बुधरामले बोल्न नसकेर नपाएको स्थानीय सामाजिक कार्यकर्ता गणेशबहादुर हमालले जानकारी दिए ।

आफूलाई घर दिने भन्नेलाई रक्सी खुवाउन नसेकेको र पैसा दिन नसकेका कारण घर बनाउन पैसा नपाएको बुधराम चेपाङले गुनासो व्यक्त गरे ।

लैताकमा रहेका ७५ घरमध्ये चेपाङहरुको ६५ घर रहेको छ । यीमध्ये १० घरपरिवार त आफ्नो बारीको उत्पादनले तीन महिनालाई खान पनि नपुग्ने अवस्था रहेको स्थानीय मुरली चेपाङले बताए ।

भोकै रहेका परिवार र नाङ्गै सुत्न बाध्यले पेटभरि खाएर पानी नचुहिने घरमा सुत्न पाए भने त्यसैलाई स्वर्ग भन्ने थिए स्थानीय सामाजिक अगुवाले  बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री