बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: २३:२८ | UK Time: 18:43

सार्क सम्मेलनको बहानामा चिटिक्क बन्दै काठमाडौँ

वीनेपाली
२०७१ कार्तिक १४ गते १३:०८

काठमाडौँ  । आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनका लागि काठमाडौँ महानगरपालिका र अन्य निकायले नयाँ–नयाँ रूख–बिरुवा र फूल रोप्ने कार्यले ‘हरियाली काठमाडाैँको अभियानले सार्थकता पाउँदैछ ।

महानगरपालिकाले रत्नपार्क, टुँडिखेल र कान्तिपथमा निजी क्षेत्र, तिनकुनेमा काठमाडौँ उपत्यका विकास प्राधिकरण, वायुसेवा निगम अगाडि नेविल बैंक र सोल्टीमोडमा लिङ्कन कलेजका विद्यार्थीले नयाँ रूखबिरुवा रोप्ने कार्य गरिरहेका छन् । यो कार्य यही कात्तिक २५ गतेभित्र सकाउने तयारी छ ।

सार्क शिखर सम्मेलन आगामी मङ्सिर १० र ११ गते काठमाडौँमा हुँदैछ ।

महानगरपालिकाका वातावरण–प्रशासन महाशाखाका प्रमुख हरि कुँवरका अनुसार सडकका दायाँबायाँ नयाँ रोपिँदै गरिएका रूखमा कपुर, जापानी चेरी (आरू फूल) फूल, धूपीसल्ला, असारे फूल, पैयूँजस्ता जातका गरी झन्डै दुई हजार रूख–बिरुवा रोपिनेछ । यीमध्ये हालसम्म करिब एक हजार ५०० रूख रोप्ने कार्य सम्पन्न भइसकेको छ । यसबाहेक करिब तीन हजार ५०० फूल रोपिनेछन् र त्यसमध्ये ५०० लाई गमलामा राखिनेछ । साथै  ४७५ वटा रूख अडाउने बार (ट्रि गार्ड) पनि राखिनेछन् । हालसम्म २७५ वटा यस्ता बार राखिएका छन् ।

महानगरपालिकाले रूखबिरुवा रोप्नुका साथै सम्पदा र सार्वजनिक स्थलको मर्मत पनि गरिरहेको छ । यसका लागि नेपाल सरकारको रु सात करोड ८० लाख र काठमाडौँ महानगरपालिका कार्यालयको रु १० करोड गरी कुल लागत रु १८ करोड खर्च हुने अनुमान गरिएको छ ।

सडक विस्तारका क्रममा उखेलिएका पुराना रूखका ठाउँमा पनि नयाँ रूख रोपिनेछन् । यी रूखबिरुवा र फूलचाहिँ सार्क सम्मेलनपछि पनि काठमाडौँको हरियाली र सजावटका लागि रोपिएको महानगरपालिकाले जनाएको छ । प्रति १० देखि १५ फिटको दूरीमा रूख रोपिएका छन् ।

सार्कको तयारीका लागि रानीपोखरीको मर्मत, खुल्लामञ्चमा दुबोको कार्पेटिङ, राष्ट्रिय सभागृहको भवन सुधार, विभिन्न ठाउँमा पार्क, राष्ट्रिय झन्डा राख्ने स्ट्यान्ड र आइल्यान्ड बनाउने कार्य भइरहेको छ ।

महानगरपालिकाले तीनवटा गाडीमा दैनिक बिहान ५ देखि १० बजेसम्म छजना कर्मचारीलाई हरेक बिरुवामा पानी हाल्न र ती बिरुवालाई हरियो बनाइराख्न खटाएको वातावरण विभाग महाशाखा प्रमुख रविमान श्रेष्ठले जानकारी दिए ।

महानगरपालिकाले पाँच वर्षभित्र सम्पूर्ण हरियाली बनाउने गरी यो कार्य गरिरहेको हो । यसका लागि चालु आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको छ । निजी क्षेत्रले गरेका कार्यको बजेट यसमा समावेश छैन ।

सरसफाइका लागि एक करोडको भ्यान मगाइयो

सरसफाइका लागि पनि महानगरपालिकाले उत्तिकै काम गरिरहेको छ । यसका लागि पुरानै जनशक्तिले कुचो लगाउने तथा पानीले सफा गर्नेछन् । सफाइकै लागि रु एक करोड पर्ने नयाँ एक ब्रमर भ्यान मगाउन बोलपत्र आह्वान गरेको छ ।

हाल वातावरण व्यवस्थापनको क्षेत्रमा मात्र कार्यरत कुल कर्मचारीको सङ्ख्या एक हजार १०० छ । दैनिक करिब ४५० मेट्रिक टन फोहर टेकु ट्रान्सफर स्टेसनमा सङ्कलन गरी १० टनभन्दा बढी क्षमता भएको ठूला गाडीबाट सिसडोलसम्म पठाइने गरेको छ । फोहर ढुवानी गर्न साना ठूला गरी करिब २०० गाडी प्रयोगमा रहेको, साथै डोजर, लोडर, चेन डोजरसमेतको प्रयोग गरिने गरेको छ ।

शिखर सम्मेलनका समयमा सडकमा ट्राफिक डिभाइडर पनि हटाइनेछन् । सरसफाइ गर्नुअघि सडक विभागले भत्काएका सडकमा रहेका माटो र ठूला फोहर उसैले उठाउनुपर्ने, नेपाल विद्युत् प्राधिकरण र टेलिकमका छरपस्ट तारलाई चाँडो व्यवस्थापन गरिदिन महानगरपालिकाले आग्रह गरेको छ ।

छाडा चौपाया र भुस्याहा कुकुरले निम्त्यायो समस्या

काठमाडौँलाई हरियाली र सफा राख्ने योजना कार्यान्वयन गरिरहेको महानगरपालिकालाई छाडा चौपाया (गाईवस्तु) र भुस्याहा कुकुर व्यवस्थापन कार्य भने चुनौतीपूर्ण देखिएको छ ।

हाल काठमाडौँमा २० हजार भुस्याहा कुकुर रहेको अनुमान छ । केही समयअघिसम्म कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले सञ्चालन गरेको ‘डग हाउस’ ले कुकुरको परिवार नियोजनबाट न्यूनीकरण गराएको भए पनि हाल सो स्थगन भएको छ ।

जनावरसम्बन्धी अधिकारले भुस्याहा कुकुरलाई मार्न नपाइने भएकाले यसलाई धपाउनेबाहेक अरु विकल्प नभएको महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा बताउँछन् । छाडा चौपायालाई हरेक आइतबार लिलाम गर्ने योजना महानगरपालिकाले लिएको छ । महानगरपालिका भने प्रहरीले यस कार्यमा सघाउनुपर्ने बताउँछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वसन्त पन्त भुस्याहा कुकुर, छाडा गाईवस्तु व्यवस्थापनको मुख्य कार्य महानगरपालिकाले नै गर्नुपर्ने भन्दै त्यसमा आफूहरूले सहयोग गर्ने बताए ।

गत आर्थिक वर्षमा कुल ३८८ छाडा गाईवस्तुलाई महानगरपालिकाले उपत्यका बाहिर सुरक्षित स्थानमा व्यवस्थापन गरेको थियो । सो वर्षमा छाडा गाईवस्तु लिलामबाट रु दुई लाख १७ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक